२०७६ असोज ४ गते चितवनमा राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले ४ घन्टाको बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। लंकु स्थित चितवन फुडमार्ट एण्ड पार्टि प्यालेसमा भएको सो कार्यक्रमलाई राष्ट्रिय पुनर्जागरण अभियानका कार्यकारी संयोजक भरत दाहालले देशको संकट र यसको समाधानको बारेमा बिस्तृत रुपमा आफ्नो कुरा राख्नु भएको थियो।

अहिलेको संकटको सामना गर्न देशलाई बुझ्ने मौलिक सिद्धान्त र राज्य सञ्चालन गर्ने ठोस नितिको आवश्यकता रहेको कुरामा जोड दिंदै उहाँले एकाध एजेन्डाहरुबाट मात्र नेपाल बुझ्न नसकिने कुरामा जोड दिनु भएको थियो। १२ बुँदे समझदारीमा आधारित वर्तमान राजनीतिक प्रकृयालाई जति सक्दो छिटो अन्त्य नगर्ने हो भने देशमा बढ्दो तरलताले नेपालको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्ने खतरा बढ्दै गएको हुँदा ‘राष्ट्र पहिलो’ भन्ने सिद्धान्तका आधारमा सबैतिर छरिएका देशभक्त शक्तिहरुका बिचमा मोर्चा बनाउनु तत्कालको आवश्यकता भएको उहाँको भनाई थियो। उहाँले अझै पनि नागरिकताको बहानामा आक्रमण भैरहेको र संघीयता वा धर्मनिरपेक्षताका बहानामा विदेशी हैकम बढाउने प्रयासहरु भैरहेको बताउनु भयो। अब ००७ सालपछिको इतिहासलाई राम्रोसंग समिक्षा गर्नु पर्ने समय आएको र हामीले नयाँ सोंचको विकास गरेर इतिहासका घटनाहरुलाई गहिरिएर समिक्षा गरी नयाँ निष्कर्ष निकाल्नु पर्ने समय आएको भन्ने उहाँको भनाई थियो।

दाहालले जोड दिंदै भन्नु भयो-. निजिकरणका नाममा राष्ट्रिय उद्योगहरुको बिक्रि, नेपालीहरुलाई देश बाहिर निकाल्न ल्याईएको वैदेशिक रोजगारको नीति, एमालेलाई नियन्त्रण गर्न रचिएको दासढुंगा हत्याकाण्ड, नेपालका सामाजिक, सांस्कृतिक तथा नैतिक सम्बन्धहरुलाई छिन्नभिन्न पार्न र पूर्वाधारहरु नष्ट गर्न संगठित गरिएको माओवादी युद्ध, राज्यको शक्तिकेन्द्रलाई विघटन गर्ने मूल उद्देश्यमा आधारित दरबार हत्याकाण्ड र नेपालको विघटन गर्ने रणनीतिमा गराईएको १२ बुँदे समझदारी वर्तमान परिस्थितिको विकास गर्न चालिएका कदमहरु हुन्। यहाँका दलहरु देश विरुद्ध बाह्य शक्तिका खेलौनाका रुपमा मात्र प्रयोग भएका हुन्।

नेपाल अहिले ईण्डो – पश्चिमा शक्तिहरुको रणनीतिक चक्रब्युहमा फसेको बताउँदै दाहालले चीनको नेतृत्वमा शक्तिका रुपमा उदाईरहेको एशियालाई अस्तव्यस्त बनाउने योजना सहित अमेरीकन र यूरोपीयनहरुले नेपालको भू-राजनीतिलाई गिजोल्न अघि बढाएको योजनाको नतिजा अहिलेको नेपाल भएको तथ्यमा जोड दिनु भयो। यसका लागि नेपाललाई असफल राज्य बनाएर वा यसको विघटन गरेर यहाँ आफ्नो रणनीतिक उपस्थिति कायम गर्ने उद्देश्यले पश्चिमा एनजिओ तथा आईएनजिओहरु मार्फत् यहाँ लामो समयदेखि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोबैज्ञानिक जीवन प्रणालीमा गरिंदै आएको आक्रमण र त्यसबाट खानपान, भाषाबोली, रहनसहन, संस्कार, नैतिकता, सोंच आदिमा आएको स्खलनले अहिले संकटको रुप लिएको भन्ने उहाँको भनाई थियो।

 

दरबार हत्याकाण्डपछि ढालिएको शक्तिकेन्द्र स्थापित हुन नसक्दा देश तरलताबाट मुक्त हुन नसकिरहेको, विदेशी साम्राज्यवादीहरुले दलालहरुलाई प्रयोग गरेर संकटलाई विस्तार गरिरहेको र तरलताकै अवस्थाबाट नेपाललाई असफल बनाउन खोजिरहेको अवस्थामा राज्यको शक्तिकेन्द्र स्थापनाका लागि संघर्षको प्रश्न तत्कालको आवश्यकता भैसकेको हुँदा यस दिशामा अघि बढ्न संयुक्त मोर्चा निर्माण गर्नु पर्ने आवश्यकतामा उहाँको जोड थियो। दाहालले सरकारले प्रस्तुत गरेको बजेटभन्दा ब्यापारघाटाको आकार बढि भैसकेको यथार्थता नेपाललाई असफल बनाउने षडयन्त्रको पराकाष्ठा भएको सन्दर्भलाई उठाउँदै अहिले प्रस्तुत गरिएको बजेटको आन्तरिक श्रोतबाट उठ्ने राजश्वको २.५ प्रतिसत रकम मात्र विकासका नाम छुट्टयाईएको हुँदा राज्य पक्ष विदेशी योजनामा विकास प्रकृयालाई कसरी अबरुद्ध पार्ने भन्ने खेलमा लागेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो।

उक्त कार्यक्रममा अभियानका महासचिव रामबहादुर थापाले आफ्नो मन्तव्य राख्नु भएको थियो। अभियानको चितवन जिल्ला संयोजक विजय सापकोटाको सभापतित्व तथा यस अभियानको केन्द्रिय सदस्य नारायण दवाडीले संचालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *